आजदेखि काठमाण्डौको बालाजु बाइसधारामा पाँच दिने मेला


११ बैशाख २०८१, मंगलवार १२:०२ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईंचो लागेको बताउनुभयो ।

  बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ ।

यस्तै आज बौद्ध समुदायको दुईदिने तेमाल जात्रा पनि सकिंदैछ । हिजो बौद्धको जात्रामा सहभागी भएकाहरू आज बिहानै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू पुग्ने क्रममा छन् । काठमाण्डौ आसपासका जिल्लाका तामाङ समुदायले स्वयम्भू पुगेर दिवंगत आफन्तजनको नाममा बत्ती बाल्ने र लामा गुरुहरुद्वारा पूजापाठ गराउने गर्छन् ।

यसैबीच, ललितपुरको चापागाँउमा बज्रबाराही माईको जात्रा र सुनाकोठीमा बालकुमारी भवानी माईको जात्रा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here