सुनको सिक्री थुतेर भाग्दै गरेका एक पुरुष पक्राउ


११ बैशाख २०८१, मंगलवार ०८:३७ मा प्रकाशित

झापा । झापाको मेचीनगरमा एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्दै गर्दा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १३ तेलीबारी बस्ने ३९ वर्षीय दिवस राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर १३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी मेचीनगर नगरपालिका वडा नम्बर १२ सहरेडाँगी बस्ने २१ वर्षीया रचना आङदम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री थुतेर भाग्दै गर्दा राजवंशीलाई फुलवासा खोलाबाट पक्राउ गरिएको हो ।

अपरिचित व्यक्ति साइकलमा आइ अचानक घाँटीबाट सुनको सिक्री थुतेर फरार भएको खवर प्रहरी चौकी चारआलीमा जानकारी गराउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा राजवंशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here