झापाको बनियानीमा दुईवटा मोटरसाइकल जुधे, एक जनाको मृत्यु, तीन जना घाइते


८ बैशाख २०८१, शनिबार ०८:०३ मा प्रकाशित

झापा । झापाको कचनकवल ६ बनियानीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् ।

गएराति ९.५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडकखण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकल एकापसमा जुधेका थिए ।

दुर्घटनामा बीआर३६ एक्स ३९४४ नं को मोटरसाइकलका चालक कचनकवल ४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो । त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ४ बस्ने १४ वर्षीय संदिप माझी गंभीर घाइते भएका छन् । उनलाई ओमसाई पाथीभरा हस्पिटलबाट बीएण्डसी हस्पिटल लगिएको छ ।

त्यस्तै मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल ६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नं ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् ।

उनीहरुको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here