स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छः स्वास्थ्यमन्त्री यादव


७ बैशाख २०८१, शुक्रबार १४:५५ मा प्रकाशित

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरिय उत्पादन आवश्यक भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य उपकरणको क्षेत्रका शतप्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकार र निजी क्षेत्र गरेर वार्षिक खर्बौंका स्वास्थ्य उपकरणहरु आयात हुने गरेको जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री यादवले वार्षिक रुपमा आयात हुने खर्बौंको स्वास्थ्य उपकरण आयात प्रतिस्थापनको लागि मुलुक भित्रै उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले मेडिसिन र फर्मा क्षेत्रमा मुलुकभित्रै ५० प्रतिशत माथि लगानी पुगेको भन्दै स्वास्थ्य उपकरण उत्पादनमा पनि लगानी आवश्यकता रहेको बताउनु भयो ।

उहाँले ठूला स्वास्थ्य उपकरण उत्पादन गर्न नसकेको पनि सामान्य किसिमका स्वास्थ्य उपकरण उत्पादन र बजारको ठूलो सम्भावना रहेको दाबी गर्नुभयो । उहाँले ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकभित्र लगानी हुन नसकेको भन्दै अब त्यसको लागि निजी क्षेत्र तयार हुन आवश्यक रहेको बताउनु भयो । स्वास्थ्यमन्त्री यादवले आफ्नो उत्पादन नभएर सिरिञ्जमा मुलुक विदेशीमा निर्भर भएको अवस्थामा फरच्युना सिरिञ्ज उद्योगले राम्रो बजार पाउने विश्वास रहेको बताउनु भयो ।

उहाँले नेपाली बजार र नेपाली उपभोक्ता,स्वास्थ्य संस्था र अस्पतालहरुमा फरच्युना सिरिञ्जलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । उहाँले विदेशबाट ल्याउने स्वास्थ्य उपकरण कमसल हुँदा समेत विदेशी कम्पनीलाई राज्यले केही भन्न नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले स्वास्थ्य उपकरणहरु सम्भव भएसम्म आफ्नै मुलुकमा उत्पादन राज्य र निजी क्षेत्र लाग्नु जरुरी देखिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here