काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नयाँबजार खुसीबुस्थित अटो पार्टसका कर्मचारी रविन खत्री रहेका छन् । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।
महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै थप कुरा अहिले नखुलेको बताए । कार्कीले अटो पार्टसका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको र अरू थप आफूलाई थाहा नभएको प्रारम्भिक बयान दिएको बताइएको छ ।
वडाध्यक्ष रिजालले भने, ‘उहाँले व्यवसायक क्लोजिङको लागि फाइल दर्ता शाखामा पेश गर्नुभएछ, मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशंकामा मकहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइयो । त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएको पठाइएको हो ।’ वडाध्यक्षको फर्जी हस्ताक्षर भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





