विदेशिएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउन राष्ट्रपति पौडेलको आग्रह


३० चैत्र २०८०, शुक्रबार १७:०५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् ।​

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने उनको भनाइ थियो ।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी दिएका एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिए ।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरूले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरू लाग्नुपर्नेमा उनले जोड दिएका हुन् ।

उनले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरूलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गरे । साथै उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here