इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव


३० चैत्र २०८०, शुक्रबार १४:४० मा प्रकाशित

काठमाडौँ । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका– ४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदै छ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज सूर्योदय आइडलको ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदान–प्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, सूर्योदय आइडलको विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए। सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।

महोत्सवमा कलाकार यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ। महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए ।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरवास, निजी ढंगले चलेका होटेल र कटेजमा गरी पाँच हजारजनाले रात बिताउन सक्ने गरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु. १० लाख खर्च हुने आयोजकको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here