झापा स्पोर्टस् अवार्डमा रोशन र त्रिशा उत्कृष्ट खेलाडी


३० चैत्र २०८०, शुक्रबार ०८:४० मा प्रकाशित

झापा- नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेका छन् ।

उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एकएक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे ।

त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो ।

उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । एनएसजेएफ झापाका संस्थापक अध्यक्ष समदर्शीलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

त्यस्तै, स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

२०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए । उनीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

२०७३ सालबाट सुरु भएको झापा स्पोर्ट्स अवार्डको यो पाँचौँ संस्करण हो ।

यसपटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here