पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि दवाव दिन शक्ति प्रदर्शन


२५ चैत्र २०८०, आईतवार १४:५० मा प्रकाशित

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि दवाव सिर्जना गर्दै शक्ति प्रदर्शन गरिएको छ ।

नागरिक समाजको तर्फबाट ५ सय एक सदस्यीय दबाव समूह निर्माण गरेर शनिबार शक्ति प्रदर्शन गरिएको हो । लिम्वू समुदायमा बजाइने च्याब्रुङ, लिम्वू बिजुवाहरुको झाँक्री, नौमती प्रस्तुत गर्दै नगर परिक्रमा गरिएको थियो । र्‍यालीमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतका जनप्रतिनिधि पनि सहभागी थिए ।

प्रविधिको युगको विकास भइरहँदा यस्ता अवरोधहरु सिर्जना हुन नहुने र समझदारी कायम गर्नुपर्ने उनीहरुको भनाई छ ।

उद्योग वाणिज्य संघ, निर्माण ब्यवसायी संघ, होटल ब्यवसायी संघले निर्माणका लागि वातावरण बनाउन सरकारलाई यसअघिनै विज्ञप्ति मार्फत आग्रह गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।

करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ । नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ ।

त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ । सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।

तर, पाथीभरामा केबलबार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here