तनावग्रस्त सुनसरीको अवस्था सामान्य बन्दै, प्रशासनद्वारा सर्वदलीय बैठक आह्वान


२४ चैत्र २०८०, शनिबार ११:१५ मा प्रकाशित

सुनसरी । सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा दुई समूहबीच भएको झडप पछि उत्पन्न भएको परिस्थिति सामान्य बन्दै गएको छ । दुई समूहबीचमा हिजो बिहानैदेखि ठाउँ ठाउँमा झडप  भएपछि जिल्ला प्रशासनले हिजो साँझबाट सुनसरीका ५ वटा पालिकाहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

कर्फ्यु पछि सुनसरीको अवस्था सामान्य बन्दै गएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए । हिजो साँझसम्म प्रदर्शन भएपनि बिहानैबाट अवस्था सामान्य बन्दै गएको उनले बताए ।

परिस्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन कर्फ्यु भने जारी राखिएको उनले बताए । समस्या समाधानको लागि अहिले साढे १० बजे सर्वदलिय बैठक आव्हान गरिएको फुयालले बताए ।

बिहीबार एक युवा माथि कुटपिट भएपछि दुई समुदायका बिचमा भएको झडपले उग्र रुप लिएपछि अवस्था तनावग्रस्त बनेको थियो । यसैबीच सुनसरीका राजनीतिक दल तथा विभिन्न संघ संगठनले सार्वजनिक अपिल जारी गर्दै सद्भाव कायम गर्न आग्रह गरेका छन् ।

उनीहरूले अपिल जारी गर्दै द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषी उपर कारबाही हुने भन्दै सबैलाई शान्त रहन उनीहरूले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here