झापा । इलाम २ बाट प्रतिनिधि सभा सदस्य चुन्न आगामी बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गतको मतदानका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ ।
संविधान सभा अध्यक्ष तथा सांसद सुवास नेम्बाङको निधनपछि उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य पद रिक्त भएकाले बैशाख १५ का लागि मतदान हुने निर्वाचन आयोगले कार्यतालिका बनाएको छ ।
आज निर्वाचन अधिकृतको कार्यालय इलाम २ मा मनोनयन दर्ता हुँदैछ । एमालेबाट सुवास नेम्बाङका छोरा सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू, राप्रपाबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई र पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराउँदैछन् ।
सुहाङलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन गरेको छ । शुक्रबार जिल्ला कमिटीहरूका नेतृत्वले एक विज्ञप्ति जारी गर्दै सुहाङ एमाले र माओवादी केन्द्रका तर्फबाट उम्मेदवार भएको उल्लेख गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सुहाङलाई सघाउने सहमति भएबमोजिम जिल्ला कमिटीका नेतृत्वले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । तर माओवादी केन्द्रको जिल्ला कमिटीले उम्मेदवारका लागि धिरेन्द्र शर्माको नाम सिफारिस गरेको थियो ।
उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत यस अघि नै तोकिसकेको छ ।
इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन् ।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।