छुरा प्रहारको घटनामा गम्भिर घाइते मुर्मुको बिर्तामोडको स्पाइन एक्स अस्पतालमा सफल उपचार


२३ चैत्र २०८०, शुक्रबार १३:२१ मा प्रकाशित

झापा । चैत्र १३ गते बेलुकी बिर्तामोडको पश्चिमबस स्टेण्डमा भएको छुरा प्रहारको घटनामा गम्भिर घाइते भएका बिर्तामोड ३ का २३ वर्षीय सुनिल मुर्मु भनिने सुनिराम मुर्मुको बिर्तामोडको स्पाइन एक्स अस्पतालमा सफल उपचार भएको छ ।

बिर्तामोड ३ मा सञ्चालित स्पाइन सुपर स्पेसलिटी हस्पिटल ट्रमा सेन्टरले मुर्मुको सफल उपचार गरेको जनाएको छ । गत चैत १३ गते बिर्तामोड १ स्थित पश्चिम बस स्ट्याण्डमा साँझ छुरा प्रहारबाट उनी गम्भीर घाइते भएका थिए ।

डा. शाहीका अनुसार अस्पतालमा उपलब्ध भएको ट्रमा टिम, स्पाइन सर्जन, जनरल सर्जन, मेडिसिन चिकित्सक, एनेस्थेसिया डाक्टर लगायतको टिमको अथक मेहनतका कारण मुर्मुको उपचार सम्भव भएको हो ।

घाइते अवस्थामा अस्पतालमा ल्याइपुर्याइएका मुर्मुलाई रगत चढाउने, अक्सिजन दिने, रगत जाँच गर्ने, हतियारको चोट पत्ता लगाउन सीटी स्क्यान लगायतका सबै परीक्षण तत्काल गरेर उपचार शुरु गरिएको डा. शाहीले बताए । समयमा अस्पताल आएका कारण मात्र उनको ज्यान जोगिएको हो उपचारमा संलग्न चिकित्सक डा. साहीको भनाई छ ।

विराम बचाउनका लागि अस्पतालले प्राथमिकता दिएको बताउँदै डा. शाहीले भने- निम्न आर्थिक अवस्थाका मुर्मुको ज्यान बचाउन हामीले पैसा भन्दा पनि पहिला उपचार गरेका हौं । मुर्मुको उपचारका लागि झण्डै चारलाख रुपैयाँ खर्च भएको बताइएको छ ।

अस्पताल प्रशासनले जनाए अनुसार मुर्मु परिवारले हाल सम्म ५०/६० हजार रुपैयाँ मात्र रकम अस्पताललाई बुझाएका छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण स्पाइन अस्पतालमा मुर्मुको उपचार सम्भव भएको चिकित्सकको दावी छ ।

यता छुरा प्रहारमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छुरा प्रहार गर्ने कनकाई नगरपालिका १ का मनोज विकलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । पुरानो रिसिवीको कारण उनी माथि छुरा प्रहार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here