धेरै दूध किनेर दुग्धजन्य पदार्थ बनाइयो तर ती उत्पादनहरू पर्याप्त मात्रामा बजारमा गएनन् । धुलो दूध, मक्खन लगायतको स्टक रहन गयो । त्यसको असर चालु पूँजीमा परेपछि किसानबाट लिएको दूधको भुक्तानी हुन सकेन ।
किसानले भुक्तानी नपाउनुको कारण दूधको बजारमा भएको खपतमा कमी हो । प्रत्येक वर्ष भदौ, असोजमा दूधको उत्पादन धेरै हुन्छ । पोषणयुक्त घाँसपात र उपयुक्त वातावरण हुने भएकोले त्यो बेला गाईभैंसीले अन्य समयमा भन्दा केही न केही धेरै दूध दिन्छन् ।
तर, यस वर्ष अरू बेलाभन्दा पनि धेरै उत्पादन भयो । अनि यो वर्ष दूध उत्पादन बढेको बेला अर्थतन्त्रमा समस्या आयो । त्यसको असर बजारमा देखिंदा खपतमा कमी भयो । त्यसपछि हामी सहित दूध उद्योगहरूले दूधबाट दुग्धजन्य पदार्थहरू धेरै बनाए । त्यसको लागि पनि खर्च भयो ।
किसानलाई डीडीसी लगायत डेरी उद्योगहरूले दिने भनेका पनि दूध र दुग्धजन्य पदार्थको बिक्रीबाट आएको पैसा हो । धेरै दूध किनेर दुग्धजन्य पदार्थ बनाइयो तर उक्त दुग्धजन्य पदार्थहरू बजारमा पर्याप्त गएन । धुलो दूध, मख्खन लगायत स्टक रहन गयो । त्यसको असर चालु पूँजीमा परेपछि किसानबाट लिएको दूधको भुक्तानी हुन सकेन । त्यो भुक्तानीको लागि चालु पूँजी नबढ्दा दायित्व थपिंदै गएको हो ।
दूध र दुग्धजन्य पदार्थको खपत अहिले संसारभरि नै घटेको छ । अहिले अन्यत्र जस्तै नेपालमा पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । दैनिक ४ लिटर दूध किन्ने परिवार २ लिटरमा झरेका छन् । कर्पोरेट हाउसहरू दूधको चियाको सट्टा कालो चिया खाइरहेका छन् । हेर्दा सामान्य लागे पनि धेरै उपभोक्ताले दूध कटौती गरिरहेका छन् ।
नेपालीहरूले अर्को एउटा संस्कारको पनि विकास गर्र्नुपर्छ । पहिले–पहिले मेला–पर्व, चाड–पर्वमा साथीभाइ भेला हुँदा दूध, दही र मोहीहरू खाने गर्दथे तर अहिले चिसो पेय पदार्थ खान थालेका छन् । स्वास्थ्यको दृष्टिकोण र आन्तरिक अर्थतन्त्रको हिसाबले पनि यस्तो संस्कार बढाउन प्रोत्साहन गर्नुपर्छ ।