राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कने भन्दा पनि नयाँ प्रशासकिय स्वरुप अनुरुपको बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो सुझाव दिनुभएको हो ।
उहाँले सरकारले बनाउने योजनाहरु पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा संघीय संरचनालाई प्राथमिकता राखेर बनाउन सुझाव दिनुभयो ।
उहाँले सरकारले आर्थिक वर्षको बजेट विगतको भन्दा प्राथमिकता र सिद्धान्त तुलानात्मक रुपमा नयाँ ढङ्गमा जान खाजेको देखिएको उल्लेख गर्नुभयो ।
उहाँले बजेटमा प्राथमिकता तय गर्दा देशको आवश्यकता,काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष दाहालले राष्ट्रिय सभा मुलतः प्रदेश र स्थानीय तह प्रतिको जिम्मेवारी भएको भन्दै समितिहरु र सांसदहरु त्यसमा गम्भिर भएर लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले संघीय,प्रदेश र स्थानीय तहको सरकारबीचको पुलको काम गर्नसक्ने क्षमता राष्ट्रिय सभाले राख्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले सरकारले बनाउने योजना,बजेट जस्ता विषयमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले मुुलुकको अहिलेको प्राथमिकता र आवश्यकतालाई बढी जोड दिएर योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले विकास खर्च र साधरण खर्चबीचको अन्तरबिरोध हटाउने गरी अर्थमन्त्रालय र योजना आयोगले सोच्न जरुरी रहेको बताउनु भयो । पछिल्लो समय योजना माग गर्ने काम फेसन जस्तो भएको बताउनु भयो ।
मुलुकको क्षमता भन्दा पनि फेसनको रुपमा योजना माग गर्ने काम भइरकेको अध्यक्ष दाहालको भनाई थियो । उहाँले १६ औं योजना कार्यान्वयनमा जान लागेको भन्दै योजना बनाउने परम्परा योजना निर्माण, लक्ष्य निर्धारण गर्ने र कार्यान्वयन गर्ने कार्यविधिको सन्दर्भमा नयाँपन आउन जरुरी रहेको बताउनु भयो ।
उहाँले योजनाअनुसार लक्ष्य प्राप्त गर्न नसकिएको भन्दै आगामी योजना साना र थोरै तर कार्यान्वयन हुने बनाउनु जरुरी रहेको बताउनु भयो ।






