काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देश समृद्ध बनाउन नयाँ तरिकाबाट सोच्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको बताउनु भयो । उहाँले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको पार्टी काँग्रेसले संसद बन्द गर्नु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्नेकुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद बन्द गर्नु हुँदैन । सिद्धान्ततः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । ३४ वर्ष भयो हामीले बहुदल ल्याएको यो समयमा कुनैपनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’
उहाँले अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताउनु भयो ।