काठमाडौँ । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ ।
चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नैपर्ने बाध्यता छ ।
बराबरीले भने भारतलाई फाइदा पुग्नेछ । भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । यस्तै, नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेशसँग २–० ले स्तब्ध भयो ।
यस्तै, भारतले बंगलादेशसँग ३–१ गोल अन्तरको हार बेहोरेको थियो । यस्तै, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुनेछ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।