काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।
वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गर्नुभएको हो । नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताउनु भयो ।
उहाँले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताउनु भयो । एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो ।
उहाँले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताउनु भयो ।