काठमाडौँ । नेपालले सोमवार भूटानमाथि ३-० को जित निकाल्दै घरेलु मैदानमा जारी साफ यु-१६ महिला साफ च्याम्पियनसिपमा पहिलो सफलता निकालेको छ ।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग २-० को हारसँगै साफ यु-१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको थियो । सोमबार कमजोर प्रतिद्वन्दी भूटानबिरुद्ध भने नेपालले सहज जित निकाल्यो । भूटानले पहिलो खेलमा भारतसँग ७-० ले नतिजा सुम्पिएको थियो । सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि पाहुना टोली भूटानले हार व्यहोर्यो । नेपालको जितमा पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञान्सु डोल्मा लोले गोल गरे । यो जितसँगै दुई खेलबाट नेपालले तीन अंक जोड्यो र फाइनल सम्भावनालाई जीवितै राखेको छ ।
लगातार हारपछि भुटानको भने फाइनल सम्भावना सकिएको छ । नेपालले खेलको १४ औं मिनेटमा गोल गरिन् । बप्तिका कार्कीको पासमा पूजाले गोल गरेकी हुन् । चार मिनेटपछि नै कप्तान भुमिकाले नेपालको अग्रता दोब्बर बनाइन् । भुमिकाले पनि बप्तिकाकै पासमा गोल गरेकी हुन् । ३१ औं मिनेटमा ज्ञान्सुले फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई ३-० ले अगाडि बढाइन् । त्यसपछि कुनै गोल हुन नसक्दा नेपालले सहज जित निकाल्यो ।
अब नेपालले बिहीवार भारत तथा भूटानले शुक्रवार बंगलादेशको सामना गर्नेछन् । त्यसअघि मंगलवार बंगलादेश र भारतबीचको खेल हुनेछ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु-१६ नेपालमा शुक्रवारदेखि शुरु भएको हो । बंगलादेशले एक खेलबाट तीन अंक जोड्दा समान खेलबाट भारतको पनि तीन अंक नै छ ।