प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरुलाई सहभागि गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको छ ।
राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रश्तावक र सांसदहरु विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया र युक्रेन बीचको युद्धमा नेपालीहरु सहभागि गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेको हो ।
बिहीवार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरिएको हो ।
प्रस्तावमा नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागि गराइएको उल्लेख गरिएको छ । मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरुको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रश्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनु भयो ।
उहाँले युद्ध भूमिमा फसेकाहरुलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताउनु भयो । संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रश्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताउनु भयो ।