कनकाई नगरपालिकाद्वारा सार्वजनिक सुनुवाइ सम्पन्न, नगरबासीका अनेकन प्रश्न


१७ माघ २०८०, बुधबार ०८:१२ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । सोही क्रममा नगरपालिकामाथि नगरबासीले अनेकन प्रश्न तेर्स्याएका छन् ।

मङ्गलबार पालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले बिबिध बिषयमा प्रश्न गरेका हुन् । स्थानीय तहले चौमासिक रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु पर्ने भए पनि सात बर्षपछि कनकाईमा पहिलो पटक कार्यक्रम भएको भन्दै नेपाली कांग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कडेलले प्रश्न गरे ।

उनले सहज रुपमा पालिकाबाट सूचना उपलब्ध नहुने भन्दै गुनासोसमेत गरे । सन्तोष सुस्केराले एउटै बिषयमा दुईवटा शिर्षकमा बजेट बाँडिनुको कारण माग गरे । उनले बजेट छरिँदा नगरबासी खुसी भएपनि त्यसको उपलब्धि माथि प्रश्न गरे । चन्द्रप्रसाद घिमिरेले लक्षित किसानले राहत नपाएको भन्दै गुनासो गरे । दिननाथ खतिवडाले सडक बत्तीको मर्मत नभएको र नगरको पैसा दुरुपयोग भएको भन्दै नगरका बिषयमा अनेकन नकारात्मक टिप्पणी आउनुको कारण माग गरे ।

सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित क्षेत्रको रुपमा सम्मानित नगरमा यत्रतत्र त्यस्ता वस्तुको बिक्री भैरहेको भन्दै अनुगमन र नियन्त्रणमा नगरपालिकाको भूमिका के हुने भन्दै रमेशप्रसाद मैनालीले जिज्ञासा राखे ।

उनले कर्मचारीले सरकारी बाइकमा नक्कली नम्बर प्लेट प्रयोग गरेको बिषयमा पालिकाले के कारबाही गर्यो भन्दै उत्तर माग गरे । नगरबासी नन्दकुमार चुडाल, खेम शिवाकोटी, यामनाथ सेढाई, सरोज घिमिरे, पत्रकारहरु प्रदिप परियार, लिलाराज झापाली र राम निरौलाले विभिन्न बिषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका बिषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, विभिन्न शाखाका प्रमुखहरुले उत्तर दिएका थिए ।

मेयर पोखरेलले सबैखाले भ्रम र आलोचनाको प्रतिवाद कामबाटै गर्ने बताए । सार्वजनिक सुनुवाईमा प्रश्नहरुको जवाफ दिदैं कनकाई नगरपालिका विरुद्धका सबैखाले भ्रम कामबाटै प्रतिवाद गर्दै जाने बताएका हुन् ।

उनले नगरको बजेट घट्दै गइरहेको र दायित्व बढ्दै गइरहेको जानकारी गराएका छन् ।

सार्वजनिक सुनुवाईमा उनले भने, ‘म कसैले भ्रम छर्यो वा आलोचना गर्यो भनेर प्रतिवादन गर्दै हिड्न सक्छिन् । म कामबाटै प्रतिवाद गरेर जाने हो । काम गरेर देखाएपछि सबैखाले भ्रमहरु आफै झुट सावित हुनेछन् ।’

सूर्योदय टेलिभिजनले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगरको हालसम्मको गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रम टेलिभिजनका उमाकान्त खनाल र केशव भण्डारीले संचालन गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here