पाल्पा । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको पाल्पा बुटवल सडकखण्डमा आइतबार बिहान साढे १० बजेदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडकखण्डमा शनिबार दिउँसो ३ बजेदेखि यातायातका साधन रोकिएका थिए । हिजो नै सडक अवरुद्ध बनेको सिद्धबाबा क्षेत्रमा ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु भएको प्रहरीले जनाएको छ ।
शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्र्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो । बुटवल र पाल्पाको सिमाना पर्ने सिद्धवावा क्षेत्रमा हरेक वर्ष वर्षातको समयमा पहिरोको समस्या हुँदै आएको छ ।





