इरानमा दुई बिस्फोटमा परी ९५ जनाको ज्यान गयो, बिहीवार राष्ट्रिय शोक


१९ पुष २०८०, बिहीबार १६:३७ मा प्रकाशित

इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टि स्थल नजिकै बुधवार भएका दुई विष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी घाइते भएको इरानले बताएको छ ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी शहर केरमानमा रहेको चिहानमा धेरै मानिसहरू भेला भएका बेला बिस्फोट भएको हो ।

पहिलो बिस्फोट सुलेमानीको चिहानबाट करिव ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा थियो ।

राजनीतिक र सुरक्षा मामिलाका लागि केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले बिस्फोटहरू आतंकवादीहरूद्वारा गराइएको बताएको छ ।

यसैबीच इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ ।

इरान सरकारले बिहीवार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्येका एक सुलेमानी, जनवरी ३, २०२० मा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए ।

उनको गृहनगर केरमानमा अन्त्येष्टि पछि दफन गरिएको थियो । इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ ।

पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीहरूले कठोर प्रतिवाद सामना गर्ने बताउनुभएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेताहरूलाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here