काठमाडौं । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ । यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
आज दिउँसो १ बजे काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पु याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रमुख विश्वकर्माले बताउनुभयो ।
मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।