अस्पतालबाट हराएको शिशु भेटियो


२८ असार २०७६, शनिबार १२:३६ मा प्रकाशित

पाल्पा । पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा भेटिएका छन् ।

शिशुसँगै अस्पतालबाट शिशु चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको र शिशुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो ३ः४० बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा जन्मेको ४ घण्टामै एक अपरिचित महिलाले चोरेर फरार रहेकी थिइन् । नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाई पाल्पा ल्याउने तयारी रहेको पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद सापकोटाले बताए । ‘हो हामीले शिशु र शिशु चोर्ने महिलालाई स्याङ्जाको मिर्मिबाट नियन्त्रणमा लिएका छौं उनी गल्याङ नगरपालिका मोहनडाडाकी हुन् भन्ने मात्र खुलेको छ । बच्चालाई ल्याएर आमालाई जिम्मा लगाउँछौं’, सापकोटाले भने ।

४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन् । लामो समयदेखि अस्पतालभित्र ती महिलालाई बस्न दिनु नै शंकास्पद रहेको आफन्तको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here