एमालेको संकल्प यात्राको समापन समारोहलाई भब्य बनाउन तयारी


२८ मंसिर २०८०, बिहीबार ०७:४४ मा प्रकाशित

पाँचथर । नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समापन आउदो पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा हुँदैछ ।

मध्यपहाडि (पुष्पलाल) लोकमार्गको प्रस्थानविन्दु चिवाभञ्ज्याङमा हुने संकल्प यात्राको समापन समारोहलाई भब्य बनाउन तयारी तिव्र पारिएको नेकपा एमाले पाँचथरले जनाएको छ । बुधबार सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले सबै किसिमका तयारी तिव्र रुपमा भइरहेको जानकारी दिनुभयो ।

संकल्प यात्राको टोली मंगलबार नै कोशी प्रदेश प्रवेश गरिसकेको जानकारी दिंदै नेम्बाङले टोली मंसिर ३० गते तेह्रथुम हुँदै पाँचथर प्रवेश गर्ने बताउनुभयो । उक्त दिन सदरमुकाम फिदिममा जनसभाको तयारी गरिएको छ । जनसभामा पाँचथरसँगै ताप्लेजुङ, इलाम र झापाका गरी १२ हजारको सहभागिता रहने नेकपा एमालेले दाबी गरेको छ ।

पुष १ गते चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी ओलीले अभियानको समापन गर्ने कार्यक्रम अनुसार सबै तयारी भइरहेको नेकपा एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी क्षितिजले बताउनुभयो । तयारीका लागि पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधि, भातृ संगठन सबै लागेको उहाँले बताउनुभयो ।

त्यस्तै नेकपा एमालेले आन्दोलनरत पहिचान पक्षधरलाई संकल्प यात्रालाई अवरोध नगर्न पनि आग्रह गरेको छ । संकल्प यात्रा कुनै समूह वा संगठनको बिरुद्ध नभएर विद्यमान समस्याहरुको पहिचान साथै समाधानका प्रयासका लागि भएको भन्दै केन्द्रीय सदस्य नेम्बाङले यसलाई सघाउन आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले पहिचान पक्षधरसँग खुला छलफल गर्ने इच्छा व्यक्त गरेको भन्दै बन्द र हड्तालका कार्यक्रम फिर्ता लिएर संवादमा आउन नेम्बाङले आग्रह गर्नुभयो । पहिचान पक्षधरले भने ओली सम्मिलित संकल्प यात्रालाई अवरोध गर्ने तयारी गरेको बुझिएको छ । यसअघि खेटाङ, भोजुपुर, धनकुटा र अन्य विभिन्न स्थानबाट पूर्वमन्त्री गोपाल किराती सहित डेढ दर्जनबढी आन्दोलनरत पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति पाँचथरले बुधबार सदरमुकाम फिदिममा ११११ सदस्यीय ‘पहिचानका लागि युवा दस्ता’ घोषणा गर्दै मार्चपास समेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here