अर्जुनधारा धाममा बृहत योग शिविर सञ्चालन, २४ गते आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण आउने


२१ मंसिर २०८०, बिहीबार ०७:५५ मा प्रकाशित

झापा । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं बार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ । बार्षिक अनुष्ठानको मुख्य कार्यक्रमका रुपमा मंसिर १९ गतेदेखि ५ दिवसीय बृहत योग शिविरसमेत संचालन भइरहेको छ ।

पतञ्जी योगपीठ झापाको आयोजना तथा अर्जुनधारा जलेश्वरधाम समितिको संयोजनमा बृहत योग शिविर आयोजना गरिएको हो ।

स्वस्थ जीवन, सुखी जीवन, तनावमुक्त पारिवारिक जीवनका लागि योग गरौं भन्ने मूल नाराका साथ योग शिविर सञ्चालन भइरहेको हो । संचालित बृहत योग शिविरमा कार्यक्रमका प्रमुख एवं केन्द्रीय प्रभारी (योग प्रशिक्षण) नेपालका लवदेव मिश्रबाट बिहान ५ बजे देखि ७ बजेसम्म प्रशिक्षण भइरहेको धामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

योग शिविरमा पतञ्जली योगपीठ कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, झापा अध्यक्ष देवीप्रसाद घिमिरे तथा सयौं प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । आयोजकका अनुसार २४ गते योग शिविर समापन कार्यक्रममा भारत हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको प्रमुख आतिथ्य रहनेछ ।

बिहीबार बिहानको शिविरमा योगाभ्यासका ज्ञाता प्रेमप्रकाश फलाहारी, प्रमुख कथावाचक पण्डित बालकृष्ण अर्याल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलेदेवसिंह गोम्देन पनि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here