७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी


१३ मंसिर २०८०, बुधबार ०७:४२ मा प्रकाशित

काठमाडौँ । सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here