कृषि समाचार सम्प्रेषण सम्बन्धि एकदिने अभिमूखीकरण कार्यक्रम बिराटनगरमा सम्पन्न


१२ मंसिर २०८०, मंगलवार १५:५५ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका सञ्चारकर्मीहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धि एकदिने अभिमूखीकरण कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सोमबार आयोजना गरेको कार्यक्रममा कृषि विधामा समाचार सम्प्रेषण गर्ने पत्रकारलाई तालिम प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले कृषि सम्बन्धि समाचारहरु मिडियामा कमैमात्र आउने भएकाले पत्रकारलाई सहायता र हौसलाका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

नेपाल कृषिप्रधान देश, त्यसमा पनि कोशी प्रदेश सबै भन्दा उर्बर प्रदेश भएकाले किसानले उत्पादन गरेको सागसब्जी तथा फलफूल र नगदेबालीलाई प्राथमिकतामा राखेर पत्रकारले समाचार सम्प्रेसण गर्नुपर्ने उहाँको भनाइ थियो ।

दुई खण्डमा बिभाजन गरेर तालिम प्रदान गरिएको थियो । पहिलो सत्रमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका बरिष्ठ अधिकृत विज्ञ पशुपति पोख्रेलले पत्रकारहरुलाई कृषी भनेको के हो ? किसानका कस्ता मुद्धालाई समाचारमा प्राथमिकताकासाथ उठान गर्नुपर्छ भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो ।

किसानहरुले उत्पादन गरेका अदुवा, अम्लिसो, अलैँची, खोर्सानीलगायत बिबिध किसिमका नगदेबाली तथा फलफूल र सागपातको सिजनअनुसारको समाचार सम्प्रेषण गर्नुपर्ने उहाँले बताउनुभयो ।

समाचारले गर्दामात्रै पनि बजारमा ठूलो प्रभाव पर्ने र उत्पादित सामानले बजार पाउन सहज हुने उहाँको भनाइ थियो । त्यस्तै तालिमको दोस्रो सत्रमा कान्तिपुर टेलिभिजनका पत्रकार महाप्रसाद खतिवडाले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा उहाँले समाचारको मर्यादा तथा नियमका बारेमा प्रष्ट पार्नुभएको थियो । अहिलेको बद्लिँदो युगमा समाचार लेखाइमा मिठास र पढुम्-पढुम् लाग्ने हुनुपर्ने पत्रकार खतिवडाको भनाइ थियो ।

लेखनका क्रममा पत्रकारले सरल र सहज भाषाशैलीको प्रयोग गर्नुपर्ने, विषयबस्तुलाई केन्द्रमा राखेर समाचार लेख्नु पर्ने साथै समाचार अनुसारको शीर्षक राख्नु पर्ने उहाँले बताउनुभयो । बिराटनगरस्थित होटल इष्टर्न स्टारको सभाहलमा भएको कार्यक्रममा प्रदेशका बिभिन्न जिल्लाका पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिम उपलब्धिमूलक, व्यवहारिक र सिर्जनशील भएको पत्रकारहरुको प्रतिक्रिया थियो । नेपाल कृषि बजार विकास कार्यक्रमको सहकार्य रहेको कार्यक्रमको संचालन उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यक्रम संयोजक संजिव पौड्यालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here