काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र ल्याउनका लागि भएको आन्दोलन व्यर्थ भएको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रबाट फर्किने क्रममा मंगलबार बिहान सुर्खेतमा पत्रकारहरूसँग बोल्दै नेपालले राजतन्त्र ल्याउने कुरा कल्पना मात्रै भएको बताए। उनले अब नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित हुने बताए।
‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला, तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’
राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने बहानामा आन्दोलन नगर्न पनि आग्रह गरे। ‘सरकारले गलत काम गरेको छ भने सरकारविरूद्ध उभिनुपर्यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो,’ उनले भने।
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन राजावादीहरूबाट परिचालित भएको आरोप लगाए। नेपालका लागि यस्ता आन्दोलन उपलब्धिविहीन हुने नेपालले बताए।