नेपाली कांग्रेस झापाका पूर्वसभापति शर्माको निधन


११ मंसिर २०८०, सोमबार २०:११ मा प्रकाशित

झापा । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधन भएको छ ।

बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार अपरान्ह ४.३० बजे शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो ।

कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि एक महिनाअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको र रगत कम भएको अवस्थामा उनको उपचार भइरहेको थियो ।

बीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए ।

२०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनले त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका थिए ।

२०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा उम्मेदवार भएका थिए ।

शर्माको मंगलबार बिहान ११ बजे कनकाई माईमा दाहसंस्कार गरिने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here