काठमाडौ । अर्थ मन्त्रालयले आगामी बैंशाखको दोश्रो साता हुने तेस्रो लगानी सम्मेलनको तयारी थालेको छ ।
मन्त्रिपरिषद्को कार्तिक २३ गतेको बैठकले बैंशाख ९ र १० गते तेस्रो लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । जसअनुसार अर्थमन्त्री डा प्रकाशशरण महतको संयोकत्वमा गठन भएको निर्देशक समितिको पहिलो बैठकले तेस्रो लगानी सम्मेलनको तयारीका बारेमा छलफल गरेको हो ।
बैठकमा अर्थमन्त्री डा महतले सरकारले बैंशाखमा लगानी सम्मेलनको मिति तोकको भन्दै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजानेगरि तयारी गर्नुपर्ने बताउनुभयो ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने उहाले बताउनुभयो ।
त्यस्तै उहाले लगानी सम्मेलनका लागि ‘सोकेस’मा लैजाने आयोजनाका बिषयमा पनि तयारी गर्न निर्देशन दिनुभयो । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ ।