झापा । झापाको मेचीनगर नगरपालिका–१२ स्थित एक रबर उद्योगमा शुक्रबार विहान आगलागी भएको छ ।
रबर व्यवसायी शान्तिराम चिमरियाको उद्योगमा विहान करिब ९ बजे लागेको आगोबाट धेरै धनमालको क्षति भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उद्योगमा आगलागीबाट करिब रु ३५ लाख बराबरको क्षति भएको छ ।
क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट हुँदा उद्योमा आगलागी भएको हो । आगलागीबाट उद्योगमा तयारी अवस्थामा रहेको १० मेट्रिक टन रबर, रोलर मेसिन र डेढसय मन धान जलेर नष्ट भएको छ ।
मेचीनगर नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । चिमरियाले धाइजन पशुपालन तथा रबर उद्योग सञ्चालन गर्दै आउनुभएको थियो ।