बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध


२७ असार २०७६, शुक्रबार १४:०८ मा प्रकाशित

रौतहट । तीन दिनदेखि लगातार पानी परेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

चन्द्रपुर बागमति खण्डको लच्कामा बाढी आएकाले रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा करिब ५ सय सवारी साधन रोकिएका छन् । रातिदेखि नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले जानकारी दिए । राजमार्गको लच्कामा पानीको वहाव घटेको छैन । केही सवारी साधन बाढीमा पसेका थिए । प्रहरीले ती गाडी निकालेको छ। तीन दिनदेखिको वर्षाले रौतहट जिल्लाको जनजीवन प्रभावित हुँदै आएको छ ।

जिल्लाका एक दर्जन बस्तिमा घरभित्र पानी पसेको छ । बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गौर, गढौ लगायतका बस्तीहरु डुवानको जोखिममा छन् । बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदीमा पानीको बहाव उच्च हुँदै गएको छ । स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई बस्तिमा नदी पस्न सक्न संभावना भएकाले सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

नदीले बाँध कटान गरिरहेको छ । सवारी साधन डुब्ने स्थिति भएमा समयमा सुरक्षित स्थानमा लैजान, महत्वपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न, जीर्ण कच्ची घरमा नबस्न प्रशासनले आग्रह गरेको छ । उद्धारको आवश्यक्ता परेमा तत्कल प्रहरीको १०० नम्वरमा खबर खर्न आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here