काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताउनुभएको छ ।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीको छाता संस्था, इफाप्काको ४६औँ सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन जरुरी रहेको बताउनुभएको हो ।
हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उहाले बताउनुभयो । जलवायु परिवर्तनले विश्वमा नै समस्या पैदा गरिरहेको अवस्थामा यस एजेन्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।
कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्न उहाले आग्रह गर्नुभयो । इफाप्काको अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ९ गते सम्म चल्नेछ । सम्मेलनमा स्वदेशका १ सय २८ र विदेशका २ सय ४२ गरि ४ सय प्रतिनिधिहरु सहभागी छन् ।