कोशी प्रदेश सरकारबाट एमाले बाहिरिनु हुँदैनः कांग्रेस नेता कोइराला


१ मंसिर २०८०, शुक्रबार १९:२९ मा प्रकाशित

बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताउनुभएको छ ।

शुक्रवार विराटनगर बिमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूणर्ता पाउने समेत बताउनुभयो ।

उहाँले सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राख्नुभयो । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउँदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गर्नुभयो ।

उहाँले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राख्नुभयो ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताउनुभयो ।

नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिँदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here