काबेली करिडोर प्रसारण लाइन निर्माणमा अवरोध


२७ असार २०७६, शुक्रबार १२:४१ मा प्रकाशित

पाँचथर । काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा अवरोध भएको छ ।

आयोजनाको ठेकेदार कम्पनी जागुअर ओभरसिज एण्ड एष्टर जेभीको पेटी ठेकेदार पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनीले काममा लगाएका व्यक्तिहरुले निर्माण एक हप्ता देखि अवरोध गरेका हुन् । भगवतीले प्रसारण लाइन निर्माणको पेटी ठेक्का लिएर स्थानीय दावा शेर्पा र कृष्ण कार्कीलाई कामको जिम्मा दिएको थियो । तर भगवतीले काम गरेको पैसा नदिएपछि उनीहरुले अन्तिम चरणमा पुगेको प्रसारण लाइन निर्माणको काम अवरुद्ध पारेका हुन् ।

प्रसारण लाइनको फिदिम (थापाटार)(अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमीटर प्रसारण लाइनमा करिब दुई किलोमीटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर (झापा)(गोदक (इलाम) पहिलो र सोयाक (इलाम)(फिदिम (पाँचथर) खण्ड संचालनमा आइसकेको छ । लखनपुर गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२ र ३३र ११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा छन् । तेस्रो खण्ड असारभित्रमा संचालनमा ल्याउने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको थियो ।

आयोजनाको विद्युत कावेली करिडोर प्रसारण लाइनको तेस्रो खण्डको अमरपुर सबस्टेसनमा जोडिने छ । प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले विद्युत् उत्पादन गर्नु पर्ने मिति (आरसिओडी अगामी १ साउनमा छ । यसैगरी, अमरपुर सबस्टेसनमै ताप्लेजुङमा अरुण काबेली पावर कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजना जोडिने छ ।

दुवै आयोजना निर्माण तत्काल सम्पन्न भएर नजोडिने भएपछि आफैँले काम लगाएका व्यक्तिहरुलाई पैसा नदिएर तार तान्न अवरोध गरेको काबेली करिडोर प्रसारण आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो । झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो ।

कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here