काठमाडौं । बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइराखेको छ । निरन्तरको वर्षाले तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ ।
सडकमा पहिरो खसेपछि गए रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा बीपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिए । यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको उनले बताए । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले बताए । बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेको उनको भनाइ छ । आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने उनले बताए ।
राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् । भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ । बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन् । तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ । मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए । ‘शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले सेतोपाटीसँग भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।’
वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए । ‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ । त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने, ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ । केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ ।’
वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
असार २७ गते (शुक्रबार)
दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारी वर्षासमेत हुनेछ। देशको केहि स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राति: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुनेछ भने पूर्वक्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
असार २८ गते (शनिबार)
दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।
राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्यक्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
असार २९ गते (आइतबार)
दिउसो: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरुमा धेरै भारी वर्षा समेत हुनेछ।
राति: देशभर व्यापक क्षेत्रमा वर्षा जारी रहनेछ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षासमेत हुनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको खासगरी पूर्व र मध्यक्षेत्रका केही स्थानहरुमा भारी वर्षा हुने र पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारीसमेत हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएको उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने भएकोले उच्च सतर्क रहनुपर्ने देखिन्छ।





