काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।
विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन । ‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ’, तिवारीले अनलाइनखबरसँग भने, ‘हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं ।’
धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान–अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।





