प्रहरीको गोलीबाट मारिएका सिंहको परिवारलाई १० लाख राहत दिने निर्णय


२६ असार २०७६, बिहीबार १७:०९ मा प्रकाशित

सर्लाही । गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने निर्णय भएको बताए ।

सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो । मृतकका परिवार र गाउँलेले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । जसमा सरोज सिंहको टाउकोमा गोली लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here