बिर्तामोड-१० चौथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश


३० आश्विन २०८०, मंगलवार १९:३० मा प्रकाशित

झापा । बिर्तामोड-१० चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा मंगलबार भएको प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५-० गोल अन्तरको फराकिलो जित निकाल्दै बिर्तामोड-१० फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड-१० लाई जित दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे । पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरे । निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८ औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

बिर्तामोड-१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे । उनले खोलको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । ५८ औं मिनेटमा थप एक गर्दै गुरुङले टिको अग्रतालाई ५-० बनाएका थिए ।

बिर्तामोड-२ ले भने खेलमा सान्त्वना गोलसमेत फर्काउन सकेन् । खेल अवधिभर स्कोर गर्ने प्रयास गरे पनि विपक्षी बाधक बन्दा सफल हुन सकेन । खेलमा बिर्तामोड २ का नविन वि.क.ले ४१ औं मिनेटमा र विपिन लिम्बूले ६५ औं पहेँलो कार्ड पाएका थिए ।

बिर्तामोड-१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

बिर्तामोड-१०ले अब कार्तिक २ गते हुने फाइनल खेलमा बिर्तामोड-५ संग प्रतिस्पर्धा गर्ने छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड ४ लाई २-१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ५ ले फाइनलमा स्थान बनाएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण-पत्र प्राप्त गर्ने छ ।

प्रतियोगिताको फाइनलको दिन पत्रकार र कलाकारबिच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here