सतासी महिला मौरी पालन सहकारीले आफ्नै मह उद्योग सञ्चालन गर्ने


२६ आश्विन २०८०, शुक्रबार १९:४३ मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ११ मा रहेको सतासी महिला मौरी पालन सहकारी संस्था लिमिटेडको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरेर उक्त सहकारीको साधारणसभा सम्पन्न भएको हो । महिलाहरुको मात्र नेतृत्व रहेको सहकारीमा ३२४ जना सदस्यहरुको रहेका छन् ।

आर्थिक मन्दीका कारण सहकारीको अवस्था केही खस्किए पनि थप व्यवस्थापन गरेर आर्थिक अवस्था मजबुत बनाउन कार्यक्रमका प्रमुख अतिथि संस्थाकी निवर्तमान अध्यक्ष केशमाया थोप्राले सुझाव दिनुभयो । सहकारीले प्राप्त गरेको जमिनमा मौरी घार निर्माण कारखाना सञ्चालनमा ल्याउन उहाँले सुझाव दिनुभयो।

सतासी महिला मौरी पालन सहकारी संस्था लिमिटेडले स्थापना कालदेखिनै महिलाहरुको सांगठनिक संरचनावाट व्यवसायिक मौरी पालन गर्दै आएको छ ।

सहकारीका सदस्यहरुले मौरी पालन गर्दै उत्पादित मह अन्य उद्योगलाई विक्री गर्दै आएको थियो । महिला कृषकहरुले उत्पादन गरेको मह अन्य उद्योगमा बिक्री गर्दा सहकारीलाई आर्थिक संकटको अवस्था आइपरेको हुँदा आगामी दिनमा सहकारीमै मह प्रशोधन गरेर बजारीकरणमा जुट्ने योजना राम्रो रहेको पूर्व अध्यक्षसमेत रहनुभएकी हाल साहारा नेपालकी उपाध्यक्ष पवित्रा लिम्बुले बताउनुभयो।

लामो समयदेखि मह उत्पादन गर्दै आएको सतासी महिला मौरी पालन सहकारी संस्थामा सयौँको संख्यामा मौरी पालक किसान क्रियाशील छन् ।

सहकारीमा केही आर्थिक समस्या भए पनि ऋणको रुपमा फसेको लगानी उठाउन सहकारी लागिपर्ने बताउँदै सेयर सदस्यको तर्फबाट घार उद्योग स्थापना गर्ने साथै सहकारीले उत्पादन गरेको मह प्रयोग गरिदिन सदस्यहरुलाई सहकारीकी व्यवस्थापक देवी दाहालले बताउनुभयो ।

मौरी व्यवसायबाट स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन महबाट नसा सम्बन्धीका विरामीहरुको थेरापी गराउँदै मौरी जन्य उत्पादनबाट साबुन उद्योग स्थापना गर्ने र सहकारीमा संकलित मह प्रशोधन गरेर बजारीकरणमा सहकारी आफैँ लागिपर्ने साधारणसभाले निर्णय गरेको छ ।

सहकारीकी अध्यक्ष धनमाया थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहकारीका २ सय बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

मौरी पालनका लागि झापा जिल्लामा मात्र नभइ अन्य जिल्लासम्म सिप सिकाउँदै कृषि विकासमा सहकारीले गरेको योगदान चर्चायोग्य मात्र हैन महिला उद्यमीहरुको नमूना उद्यमको रुपमा स्थापित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here