अर्जुनधारा घटनापछि युवा संघ र एमाले झापाको कडा आपत्ति, युवा संघले भन्यो – दुर्गा प्रसाईंका सबै कार्यक्रम बिथोल्छौं


२६ आश्विन २०८०, शुक्रबार ०८:१६ मा प्रकाशित

झापा । राष्ट्रिय युवा संघ झापाले शुक्रबार अर्जुनधारामा भएको सवारी तोडफोडको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।

संगठनको प्रथम नगर अधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको सवारीमा तोडफोड भएपछि युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।

अर्जुनधाराको प्रथम नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत र विशिष्ट अतिथिको रुपमा युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे सहभागी थिए ।

पहिचानवादीका नाममा दुर्गा प्रसाईंका समर्थकहरुले सवारी साधनहरूमा तोडफोड गरेको युवा संघको ठहर छ ।

युवा संघले विज्ञप्तिमा भनेको छ, ‘कानुनी राज्यको धज्जी उडाउदै मनपरी अभिव्यक्ति दिने प्रसाईले एमाले नेताहरु विरुद्ध भाडामा मान्छेको प्रयोग गरेको छ ।’

गैरकानुनी, अराजक, लोकतन्त्र विरोधी गतिविधि गर्ने कथित पहिचानवादी र दुर्गा प्रसाईंका सहभागी हुने सबै कार्यक्रमहरु विथोल्ने युवा संघले घोषणासमेत गरेको छ ।

युवा संघका संयोजक फुर्वा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत तोडफोडमा संलग्न फरार व्यक्तिहरुको खोजी गरि तत्काल कारबाही गर्न माग गरिएको छ ।

यस्तै, नेकपा एमाले झापालेसमेत विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष अपिल गरेको छ ।

एमाले झापाका अध्यक्ष दिपक कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सभा सम्मेलन गर्ने संवैधानिक हकका विरुद्ध कुनै पनि अवरोधहरु मान्य हुने छैन ।’

तोडफोड भएका सवारीहरूको उचित क्षतिपूर्ति दिनुपर्ने माग एमाले झापाले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here