विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील हुन मानवअधिकार आयोगको आग्रह


५ आश्विन २०८०, शुक्रबार ०६:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सरकार तथा आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै आयोगले, यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको भन्दै संवेदनशील बन्न आग्रह गरेको छ ।

आफ्ना मागहरु सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूणर् वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगको भनाई छ ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरु राख्न, आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।’

विद्यालयका शिक्षक शिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन आयोगको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here