चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि तोडे अनसन


१ आश्विन २०८०, सोमबार १९:४२ मा प्रकाशित

काठमाडौं । बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रीय माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन् ।

अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकिय सचिव रामेश्वर आयार्च र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए ।

अनसन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत सहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टंक वाराकोटी लगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका पदाधिकारी थिए । वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिनुभएको थियो ।

स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउदै यसका बिषयमा शिक्षा मन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाडै संवोधन हुने बताउनुभयो ।

उहाँले चिकित्सा ऐन संसोधन गर्न नसकिए अवको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दावी गर्दे प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका बिषयमा ठोस पहल हुनेमा जोड दिनुभयो ।

चिकित्सा शिक्षा ऐन संसोधन गर्नु पर्ने, सिटिइभिटीको तुरन्त पुर्नसंरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरउन्नति गर्दै वाकीमा तत्काल भर्ना खोल्नु पर्ने लगाएतका १४ वटा माग राखेर संघर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here