नेम्बाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, उहाँको संक्षिप्त राजनीतिक यात्रा


२६ भाद्र २०८०, मंगलवार ०७:२१ मा प्रकाशित

काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । 

बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यहीँ नेम्वाङको निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुनुभयो।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उहाँ एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेम्वाङ वि. सं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहनुभयो । 

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहनुभएका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहनुभएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here