आज तीनवटा प्रदेशमा आकस्मिक बाढीको सम्भावना


२५ असार २०७६, बुधबार ११:२७ मा प्रकाशित

काठमाडौं । आज बुधबार प्रदेश एक, दुई र तीनका अधिकांश जिल्ला भएर बग्ने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पनि प्रदेश एक, दुई र तीन, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूर पश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरुमा बाढीको उच्च सम्भावना रहेको र पूर्व तयारीमा जुट्न पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ । उता जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशको अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रहेको र काठमाडौं उपत्यका लगायतका देशका धेरै स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

देशको केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । भोलि विहीबार देशका धेरै स्थानमा वर्षा हुने र शुक्रबारपनि अधिकांश स्थानमा बदली हुनुका साथै केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

देशभरी वर्षाको अवस्था रहेकोले अहिले गर्मी केही कम भएको पाइएको छ । केही दिन अघि ४० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम पुगेका स्थानमा पनि अहिले निकै घटेको छ । अहिले बढी तापक्रम भनेको ३३ डिग्री सेल्सीयसको हाराहारीमा पाइएको छ । जस्तो हिजो दीपायलमा ३३.५, धनगढीमा ३३.३, सिमरामा ३३.५ र नेपालगञ्जमा ३१.२ डिग्री सेल्सीयस तापक्रम पुगेको थियो । यसैगरी, काठमाडौंमा हिजोको अधिकतम तापक्रम २५.४ डिग्री सेल्सीयस थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here