सिरिन्ज आक्रमणमा फसेका पाठकलाई प्रहरीले छाड्यो सम्मानपूर्वक


२५ असार २०७६, बुधबार ११:२५ मा प्रकाशित

काठमाडौं । काभ्रेमा गत सोमबार हुँदै नभएको सिरिन्ज आक्रमणको घटनामा फसेका स्याङ्जा वालिङ नगरपालिका–१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले सम्मानपूर्वक छाडेको छ ।

धुलिखेल अस्पताल जाँदै गरेको अवस्थामा बसमा सवार एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै पाठकमाथि आरोप लगाइन् । ती महिलाले सिरिन्जको कुरा निकाल्ने वित्तिकै बसमा सवार यात्रुले पाठकमाथि हातपात गरे ।
उनले मेरो गल्ती छैन, मैले केही गरेको छैन भन्दा पनि त्यहाँ उनको आवाज सुन्ने कोही थिएनन् । तर, पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपश्चात घटनामा उनको संलग्नता नभएको पाइएपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक छाडेको हो । पाठकले काभ्रे प्रहरीसमक्ष आफूलाई निर्दोष साबित गराउन एक दिन पूरापूर संघर्ष गर्नुपर्‍यो। अन्ततः मंगलबार साँझ प्रहरीले उनलाई निर्दोष भन्दै ‘सम्मानपूर्वक’ छाडेको हो।

प्रहरीले सिरिन्ज प्रहार भए–नभएको यकिन गर्न ती युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो। अस्पतालले जाँच गरेर सिरिन्ज प्रहार नभएको यकिन गरेपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक रिहा गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here