झापाको बिर्तामोडमा लागुपदार्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन साथै तीज मिलन कार्यक्रम सम्पन्न


१७ भाद्र २०८०, आईतवार १३:३२ मा प्रकाशित

निराजन निरौला, बिर्तामोड । झापाको बिर्तामोडमा लागुपदार्थ तथा आत्महत्या न्यूनीकरण सम्बन्धि जनचेतनामूलक नाटक प्रदर्शन साथै तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । उर्जाशिल रामधुनी आमा समूहले आयोजना गरेको उक्त कार्यक्रमको संयोजक टिका प्रसाइ मैनाली रहनुभएको थियो ।

संचालन संस्थाकी सहसचिव निरा न्यौपाने कट्टेलले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य रमा बिमलीले राख्नु भएको थियो । नाटकमा मानिस लागुपदार्थको सिकार कसरी बन्छ र आत्महत्या गर्ने अवस्था कसरी आइपर्छ जसको न्यूनीकरण गर्न के गर्नुपर्छ लगायतलाई मुख्य विषय बनाएर नाटक प्रदर्शन भएको थियो ।

नाटककी पात्र शकुन मैनाली (छोरी छाँया) ले स्कलरसीपमा नाम निकालेर स्वर्गीय बुबाको सपना पुरा गर्न नर्सिङ पड्नका लागि धेरै क्याम्पसमा भर्ना हुन कोशिस गर्छिन् तर राजनीतिक चलखेलका कारण नेताको फोर्सबिना कहिँ भर्ना हुन सक्दिनन् ।

आफ्नै ठूलोबुबा राजनीतिक दलको ठूलो व्यक्ति भए पनि पैसाबिना काम नगर्दिएपछि छोरी छाँयाले धेरै दु: ख पाउँछिन् ।

अन्त्यमा तिनै ठूलोबुबाले भतिजीलाई समेत बलात्कार गरेर पनि नर्सिङमा भर्ना नगरी छाड्ने प्रयास गर्छन् तर छाँयाकी आमाले बलात्कार गरेको भिडियो बनाएर ठूलोबुबा पात्रलाई देखाएपछि क्याम्पसमा बिनापैसा भर्ना गरिदिने र लागेको सबै खर्च आफैँले व्यहोर्ने तर यौनदुर्व्यवहारलाई बाहिर ननिकाल्ने सर्तमा छोरी छाँया भर्ना हुनुपर्ने बाध्यताको दृश्यले सबै दर्शकलाई भावविह्वल बनाएको थियो ।

त्यस्तै नाटककी अर्की पात्र रस्मिला खतिवडा (छोरी प्रिया) लागुपदार्थ दुर्व्यवसनीमा फसेको आफ्नै दाजुबाट बालत्कृत भएर गर्भवती हुन्छिन् । गर्भवती भएकै डरले अब कुनै उपाय छैन भनेर आत्महत्या गर्नखोज्दा छिमेकीले देखेर बचाएपनि उनी मानसिक रोगको सिकार भएको अर्को दृश्यले धेरै दर्शकहरुको मन जितेको थियो ।

आफ्नै ठूलोबुबाबाट बलात्कृत भएर नर्स पड्न गएकी छाँया नर्स भएर गाउँ फर्किदा दाजुबाट बलात्कृत भएर गर्भवती भएपछि मानसिक रोगको सिकार भएकी छिमेकी प्रियालाई उपचार गर्नुपरेको दृश्यले नाटकको निष्कर्ष निकालेको थियो ।

नाटकमा देशको बिग्रदो राजनीतिक अवस्था, लागुपदार्थले निम्त्याएको बिकृती, नारीहरु प्रतिको कुदृश्टि र अन्तत: आत्महत्या गर्नु पर्ने बाध्यात्मक परिस्थितिलाई जनचेतनामूलक तरिकाले प्रदर्शन गरिएको थियो । नाटकको रचना उर्जाशील रामधुनी आमा समुहकी अध्यक्ष गंगा शिवाकोटी ढकालले गर्नुभएको हो भने जसको सम्पादन र लेखन सूर्योदय टेलिभिजनका बरिष्ठ कार्यक्रम अधिकृत केशवराज भण्डारीले गर्नुभएको हो ।

समाजसेवामूलक धेरै काम गर्दै आएको उर्जाशील रामधुनी आमा समुहले तीजको तडकभडकलाई रोक्न तीज विशेष कार्यक्रममा यस्तो नाटकको प्रदर्शनी गरिएको बताएको छ । संस्थाकी अध्यक्ष गंगा शिवाकोटी ढकालले समाजमा धेरै आत्महत्याका घटना बढ्न थालेपछि जनचेतनामूलक सामग्रीको आवश्यकता देखेर यो नाटकको मञ्चन गरिएको बताउनु भयो ।

कार्यक्रममा साडी चोलो किन्न नसक्ने परिवारका महिलाहरुलाई एक-एक थान कपडासमेत बितरण गरिएको थियो । साथै बालनृत्य, तीजबिशेष नृत्यहरुकोसमेत प्रदर्शनी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here