चितवन । सरकारले तोकेको भन्दा बढी शुल्क लिएर शैक्षिक संस्थामा लुट मच्चाएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
चितवन मेडिकल कलेज अगाडि भेला भएका विद्यार्थीहरुले मेडिकल माफिया मुर्दावाद, अबैध शुल्क फिर्ता गर भन्दै चर्को नाराबाजी समेत गरेका छन् भने भरतपुरको चौबिसकोठीसम्म र्याली समेत निकालेका थिए।
एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेको भन्दा १२ लाख देखि २५ लाखसम्म कलेज प्रशासनले अवैध तरिकाले असुलेको आरोप विद्यार्थीहरुको छ । सरकारले एबीबीएसकोे भर्ना शुल्क ४२ लाख तोकेको छ । तर , मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अबैध शुल्क असुलिरहेको र सो, सम्बन्धमा कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको एबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन शाह बताउँछन् । कलेजले चरम अन्याय गरेकोले आफूहरु आन्दोलित हुनु परेको उनको गुनासो थियो ।
आईओएमले पुरक परीक्षा शुल्क २५ सय तोकेको छ तर, कलेज प्रशासनले भने, पाँच हजार रुपैयाँसम्म अबैध रकम असुलिरहेको छ । यसको विरुद्धमा बोल्दा उल्टै कलेजले धम्क्याउने गरेको शाहको आरोप छ । साथै, उनले अन्यायका विरुद्ध आन्दोलित भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने समेत प्रष्ट पारेका छन् ।
यस्तै, तेस्रो वर्षमै अध्ययन सोही कलेजका अर्का विद्यार्थी बसन्त शाहले परीक्षाका बेला पैसा माग्ने र अनावश्यक रूपमा कलेज प्रशासनले मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् । उनले कलेजको अत्याचार विरुद्ध आफूहरुले मंगलबार र्याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की समेत कलेज प्रशासनले बारम्बार दिने गरेको आरोप लगाए ।
विद्यार्थीले होस्टेल भित्रको क्यान्टिनको शुल्कसमेत वृद्धि गरेको आरोप विद्यार्थीहरुको छ । क्यान्टिनका विषयमा तीन महिनादेखि कलेज प्रशासनलाई भनेको तर यस बिषयमा कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।





