काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको छ ।
न्यायाधीश प्रकाश प्रसाद पण्डितको इजलासमा पेसी तोकिएकोमा यो मुद्धालाई आज हेर्न नभ्याइनेमा राखिएको हो । सन्दीपविरुद्धको मुद्धा न्यायाधीश पण्डितको पाँचौं नम्बरमा रहेको थियो ।
आजदेखि यो मुद्धामा नियमित सुनुवाई हुने भनिएको थियो जसका लागि सन्दीप समेत अदालतमा उपस्थित भएका थिए ।
यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिडवाको इजलासले यो मुद्दाको सुनुवाइ निरन्तर हुने बताउदै पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको थियो ।
नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।
सन्दीपले पेश गरेको प्रमाणमा आमाको जन्ममिति फरक देखिएको थियो । तर सन्दीपले त्यसको जवाफमा आफुले कुनै फ्यानले दिएको प्रमाण पेश गरेको उल्लेख गरेका थिए ।
यसअघि सन्दीप विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।